गण्डकी प्रदेशको सत्ता समीकरणअनुसार संसद चलेको भए यति बेला कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री निर्वाचित हुने थिए।
संसदको विशेष अधिवेशनमा बुधबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरूद्ध विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ल्याएको अविश्वास प्रस्तावमाथि छलफल चल्दै थियो। छलफल सकिएपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र अविश्वास प्रस्तावमा मतदान प्रक्रिया थाल्ने कार्यसूची थियो।
सत्तापक्ष र विपक्षका सांसदले सरकार किन ढाल्ने र किन नढाल्ने भनेर संसदमा तर्क दिँदै थिए। संसद चलिरहेकै अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भए।
बेपत्ता सांसद खोज्न कांग्रेसका मेखलाल श्रेष्ठ, जनता समाजवादीका धनमाया लामा र जनमोर्चाका सांसद पियारी थापा गएका थिए। उनीहरूले शाहीलाई भेटेनन्, रित्तै फर्किए।